१६ चैत्र २०८०, शुक्रबार

‘बूढी पोल्ने’ पर्व धुमधामका साथ सुदूरपश्चिममा मनाइँदै

Budi polne parba

असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा आज यहाँ बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाइँदै आएको छ ।”

सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् ।

परम्परागत किंवदन्ती अनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको शिखर नगरपालिका–१ का पण्डित गुणकर जोशीले बताउनुभयो ।

द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो । पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।