१३ बैशाख २०८१, बिहीबार

आजदेखि च्याम्पियन्स लिगको नयाँ सिजन, कुन–कुन क्लब खेल्दै छन् ?

Champion League

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबारदेखि सुरु हुँदै छ । गत सिजन कोरोना महामारीका कारण पोर्चुगलको लिस्वनमा भएको च्याम्पियन्स लिग यसपटक भने होम एन्ड अवेका आधारमा आयोजना हुने छ ।

प्रत्येक टोलीले आ–आफ्नो समूहका टोलीबीच होम एन्ड अवेका आधारमा खेल्नेछन् । लिगको पहिलो दिन महत्वपूर्ण मानिएको बार्सिलोना र बायर्न म्युनिखबीचको खेल छ । यस्तै, साविक विजेता चेल्सी र प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले आ–आफ्ना प्रतिद्वन्द्वीसँग खेल्ने छन् ।

पहिलो खेलमा समूह ‘एफ’ का योङ ब्वाइज र म्यानचेष्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुने छ । योङ ब्वाइजको मैदानमा हुने खेलमा म्यानचेष्टरका क्रिष्टियानो रोनाल्डोसमेत उपलब्ध हुने छन् । सोही समयमा समूह ‘जी’ का सेभिल्ला र साल्र्जबर्ग आमनेसामने हुने छन् । खेल सेभिल्लामा हुने छ ।

यस्तै, मध्यरातमा ६ खेल रहेको छ । सम्पूर्ण खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुने छ । पहिलो खेलमा समूह ‘ई’ का ड्यनामो केइभ र बेन्फिका भिड्ने छन् । खेल केइभको मैदानमा हुने छ ।

यसपछि बहुप्रतीक्षित बार्सिलोना र बायर्न म्युुनिखबीचको खेल हुने छ । समूह ‘इ’ अन्तर्गतको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने छ । स्टार खेलाडी लियोनल मेस्सीबिना बार्सिलोनाले पहिलोपटक च्याम्पियन्स लिग खेल्न लागेको हो । अघिल्लो वर्ष बायर्नले बार्सिलोनालाई ८–२ गोल अन्तरले पराजित गरेको थियो ।

यता, समूह ‘ए’ का भिल्लारियल र एटालान्टाबीच राति पौने १ बजे खेल छ । खेल भिल्लारियलको मैदानमा हुने छ ।

समूह ‘जी’ अन्तर्गत लस र उल्फसबर्ग भिड्ने छन् । यस्तै, समूह ‘एच’ मा दुई खेल रहेको छ । माल्मोले युभेन्ट्सको सामना गर्ने छ । खेल माल्मोको घरेलु मैदानमा हुने छ । अन्तिम खेलमा चेल्सीले लन्डनमा जेनिटको सामना गर्ने छ ।