८ बैशाख २०८१, शनिबार

किन लाग्न थाल्यो प्रचण्डलाई एक्लिँदै गएकोमा चिन्ता ?

prachand 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू एक्लिँदै गएको अभिव्यक्ति दिनुभएको छ । त्यतिमात्र होइन उहाँले चिनियाँ कम्युनिष्ट आन्दोलनका सर्वमान्य नेता माओसँग आफूलाई तुलना गर्दै जीवनको अन्तिम कालखण्डमा माओजस्तै एक्लै भइने हो कि भन्ने दुखेसो सुनाउनुभयो ।

एउटा पुस्तक विमोचन कार्यक्रममा उपस्थित भएका लेखक, समीक्षक तथा पाठकहरुसँग भावुक शैलीमा प्रचण्डले आफूलाई एक्लिँदै जान लागेको महशुस भएको सुनाउनुभयो । देशमा १० वर्षे युद्ध गरेर त्यसपछि सत्तारोहण गरेपछि दुईदुई पटक प्रधानमन्त्री पद सम्हालिसकेका प्रचण्डले एउटा गैरराजनीतिक मञ्चमा आफूलाई माओसँग तुलना गर्नुभयो । जबकी यो तुलनालाई उहाँले आफू एक्लिन लागेको प्रसंगसँग जोड्नु भएको हो ।

नेपाली राजनीतिका सबैभन्दा चतुर खेलाडीका रुपमा चिनिने प्रचण्ड अभिव्यक्ति र व्यवहारमा नवरस नै प्रयोग गर्न माहिर हुनुहुन्छ भन्ने ढुंगोमाटोलाई समेत थाहा भइसकेको छ । तैपनि उहाँ आफ्ना अभिव्यक्तिबाट सहानुभूति खोज्न छोड्नु हुन्न ।

अस्थिर कार्यशैली, परिवार केन्द्रित राजनीति र अनियमितताका थुप्रै आरोप प्रचण्डलाई एक्लै बनाउने कारक बनेका छन् । जनयुद्धका नाममा हजारौं नागरिकले दिएको बलिदानलाई तिलाञ्जली दिएर निहित स्वार्थका लागि गर्ने राजनीतिक साँठगाँठ, पार्टीभित्रकै प्रतिस्पर्धीलाई जनयुद्धकालमै गरिएका कारबाही तथा नेतृत्व कब्जा गरेर राजनीतिलाई पारिवारिक व्यापार बनाउने शैली प्रचण्डका लागि अभिषाप बन्दै गए ।

जनयुद्धकै मुख्य डिजाइनर बाबुराम भट्टराई, राजनीतिक गुरु मोहन वैद्य, प्रभावशाली नेता सीपी गजुरेल, युद्धका रणनीतिकार रामबहादुर थापा बादल, अर्का रणनीतिकार नेत्रविक्रम चन्दलगायतका नेताहरुलाई उहाँले पार्टीमा टिकाउन सक्नु भएन ।

गोपाल किराँती, लोकेन्द्र विष्ट, खड्गबहादुर विश्वकर्मा जस्ता नेताहरुको प्रभावका कारण पार्टीमा जसरी विभिन्न समुदायको अपनत्व बढेको थियो अहिले ती कुनै पनि नेता प्रचण्डको साथमा रहेनन् । लेखराज भट्ट, प्रभु साह लगायतका नेताका कारण पार्टीमा भएको भूगोलको आकर्षण उहाँले जोगाउन सक्नुभएन । अझै ठूलो पार्टीको प्रमुख बन्ने महत्वाकांक्षाले नेकपा एमालेसँग गरिएको अपवित्र गठबन्धनले प्रचण्डलाई झनै कमजोर बनाएको छ ।

परिवारभन्दा बाहिर निस्किन नसक्ने, क्यान्टोनमेनमा भएको भ्रष्टाचारको जवाफ नदिने र विभिन्न जलविद्युत परियोजनामा अर्बौँ अपचलन भएको भन्ने आरोपहरुबाट भाग्न खोज्ने प्रवृत्तिले उहाँलाई एक्लो बनाउँदै गएको हो ।

प्रचण्डको चतुर्‍याइँका कारण कुनै दिन पद र प्रतिष्ठामा पुगिएला भनेर पछि लाग्ने बाहेक नेतृत्वमा पुग्ने र मुलुकलाई नेतृत्व दिनसक्छु भन्ने आँट भएका व्यक्ति उहाँबाट टाढिँदै गइरहेको देखिन्छ ।

यस मानेमा प्रचण्डले गर्न लागेको एक्लोपनको महशुसको पुष्टि हुन्छ । तर जनयुद्धका नाममा पीडित लाखौँ नागरिकको रगत पसिनाको उपहास गरेर परिवारका सदस्यलाई राजनीतिक लाभ दिलाउन उद्दत प्रचण्डले रुँदै ‘म एक्लिएँ, माओ पनि एक्लिएका थिए भन्ने अभिव्यक्ति दिँदा’ जग हँसाइ मात्रै पो भयो कि ?