७ आश्विन २०७८, बिहीबार

दुईपटक विघठनमा परेर अदालतले व्युँताइदिएको संसदमा प्रत्येक दिनको सूची, नाराबाजी, सदन अवरुद्ध र स्थगन

1 samsad THUMB 12092021092411 600x0 1

दुईपटक विघठनमा परेर अदालतले व्युँताइदिएको संसदमा प्रत्येक दिनको सूची बनेको छ, नाराबाजी, सदन अवरुद्ध र स्थगन । जनताका हजारौं समस्याको हल खोजिनुपर्ने संसद चल्न नसकेको मात्र होइन, त्यहाँभित्रका दृष्यले मनोरन्जन खोज्नेलाई त रमाइलो बनाएको छ नै तर जनताका प्रतिनिधिप्रतिको आदर, सम्मान र आस्थामाथि भने गम्भिर प्रश्न उठाएको छ।

संसद जनताको प्रतिनिधि जाने थलो हो, सांसद जनताका प्रतिनिधि । हरेक साँसदले बोल्ने बिषयले जनताका माग, भावना र समस्या मुखरित हुनुपर्छ । सांसदको क्रियाकलापमा जनताले गर्वको अनुभूति गर्न पाउनुपर्दछ । तर नेपालमा २०४८ पछिको ३० वर्षको संसदीय इतिहास हेर्ने हो भने न संसदले जनताको भावना बोक्न सकेको छ, न सांसदले जनतालाई गर्वको अनुभूति दिलाउन सकेका छन् ।

सांसद मध्यरातमा जुवाखालबाट पक्राउ पर्नेदेखि सभासद् अपहरणसम्म संलग्न भएपछि जनताले आफ्ना प्रतिनिधिप्रति चोर औला उठाउनु स्वभाविक हो । जग्गा दलालीदेखि ठेक्कापट्टा र वनपैदावर तस्करीदेखि मानव तस्करीमा लाग्ने सांसदका कारण कतिपय बेला संसदीय व्यवस्थाको चीरहरण भएको छ ।

सत्ता टिकाउन सांसद खरिद विक्रीदेखि सुत्केरीले खाने औषधिको बिल सरकारी कोषबाट लिने पुरुष सांसद र पजेरो सुविधामार्फत् राजश्व मार्ने सांसदका कारण व्यवस्था बद्नाम भएको छ । संसद बाहिर सांसदका हर्कतको के कुरा गर्नु संसदभित्रै सांसदले देखाएका क्रियाकलाप समेत सर्कसमा प्रदर्शनका लागि राख्ने जस्ता छन् ।

एमाले सांसदहरुले पछिल्लोपटक सभामुखका विरुद्धमा गरिरहेको प्रदर्शन र त्यहाँ देखिएको दृष्यले व्यवस्था खराब कि संचालक भन्ने प्रश्न उठेको छ। सभामुखले पार्टीले कारवाही गरेका सांसदलाई निस्कासन नगरेको र सरकारले अध्यादेशमार्फत् पार्टी फुटाएको रनाहमा परेका एमाले सांसदले प्रतिनिधि सभा भवनमा प्रदर्शन गरेको झाँकीले कम्युनिष्ट, सांसद र सभ्य मानिसको सबै मानकलाई चुनौति दिएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को धारा २० मा सांसदले बैठकमा मर्यादित भएर प्रस्तुत हुने प्रावधानहरु १० वटा उपधारामा स्पष्टसँग उल्लेख गरिएको छ । संसद बैठक कसरी मर्यादित बनाउने, संसद सदस्यहरुको अनुशासन कस्तो हुने, कसरी बोल्ने, बोल्दा, बस्दा र हिँड्दासमेत कस्तो भावभंगी हुनेसम्मका कुराहरु उपधारामा समावेश भएका छन् । नियमावलीको खिलाप अमर्यादित ढंगले प्रस्तुत हुने कुनै पनि सदस्य कारबाहीको भागीदार बन्नुपर्छ ।

तर ‘नेपालको कानून दैवले जानून्’ बनाएका सांसदलाई लाग्दो हो , कानून हामीले नै बनाएको हो, कानून त निमुखा जनताले पो मान्ने त ।

हुन पनि संसद भनेको कानून बनाउने थलो नै हो । तर कानून बनाउनेले कानून बनाउने ठाउँमै बसेर देखाएको नौटंकीले भावी पुस्ताले के सिक्ला ? मर्यादापालकको हात टोक्ने र कोट च्यात्ने सांसदलाई घरमा छोराछोरीले सोधे के जवाफ दिन्छन् होला ? माइक थुतेर सभामुख र अर्थमन्त्रीको टाउको फोर्छु भनेर गर्वसाथ घोषणा गर्नुहुने माननीयले संसदीय मर्यादा त पढ्नु भएन नै, अनुशासनको पाठ पढेको पाठशाला कुन होला ? आफ्ना सांसदले मर्यादापालकमाथि चढेर रोष्ट्रममा जान लाग्दा मुसुमुसु हाँसिरहने पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भन्ने गरेको ‘समृद्ध नेपाल र खुसी नेपाली’ भनेको यही हो ?

नेपालमा २०१५ सालमा पहिलो संसद स्थापना भएयता संसदीय मर्यादा उल्लंघनका सयौं घटना भइसकेका छन् । संसदीय प्रणालीको वकालत गर्ने, संसदीय प्रणालीलाई जनताको मत अभिव्यक्त गर्ने थलोको रुपमा पक्षपोषण गर्ने तथा संसदीय प्रणालीलाई नै लोकतन्त्रको सौन्दर्य मान्ने राजनीतिक दल र तीनका नेताहरु यो प्रणालीको धज्जी उडाउन अग्रसर देखिन्छन् ।

बहुदल स्थापनायता सबैभन्दा लामो समय संसद अवरुद्ध पारेको इतिहास बोकेको एमाले अहिले मुलुकको प्रथम दल हुनुका बावजुद विपक्षीको कुर्सीमा पुगेपछि यो दृष्य फेरि देखिएको छ ।

हिजो बजेटको ब्रिफकेस फुटाउन नेतृत्व गर्ने आज रोष्ट्रममा पुग्न म्याराथुन दौडेका छन् , हिजो कुर्सी फालेर बहादुरी प्रदर्शन गर्ने आज संसदको मर्यादा सिकाउने भएका छन् । तर पनि नेपाली जनताको यक्षप्रश्न यही हो–संसदमा हरेक समस्याको समाधान वार्ता र संवादबाट गर्न सकिँदैन र ?