७ बैशाख २०८१, शुक्रबार

भोलि देखि एक जिल्लाबाट अर्काे जिल्लामा यातायात नचल्ने

Bus park

भोलि (सोमबार)देखि सार्वजनिक सवारीसाधन एक जिल्लादेखि अर्को जिल्लामा जान नपाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए । कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कता अपनाउँदै एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको यातायात व्यवसायीले बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले सोमबारदेखि लामो दूरी तथा एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सम्पूर्ण यातायात सेवा बन्द गर्ने भन्ने निर्देशन आएको बताए । तर, उक्त निर्देशनप्रति यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। ‘सबैलाई सतर्कता अपनाउन आग्रह गर्ने हो भने सम्पूर्ण यातायात सेवा नै बन्द गर्नुपर्छ, लामो दूरी तथा एक जिल्लाबाट अर्को जिल्लाको सेवा बन्द गरेर मात्र हुँदैन’, अध्यक्ष कर्माचार्यले भने।

‘हाम्रा व्यवसायी तथा चालक-सहचालकलाई छुट्टी दिएर राख्नुपर्छ, लामो दूरी तथा छोटो दूरीको भनेर हुदैन’, उनले भने, ‘सम्पूर्ण सेवा बन्द गरेर उपभोक्तालाई घरभित्र नै बस्ने वातावरण सिर्जना गर्नुपर्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गरेको सम्बोधनपछि यातायत व्यवस्था विभागले शनिबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई रोक हुने सवारी साधनको बारेमा पत्र पठाएको विभागले जनाएको छ।

‘प्रधानमन्त्रीको सम्बोधनपछि हामीले कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा यातायात बन्दको सम्पूर्ण जानकारी समेटेर पत्र पठाएका छौँ। बेलुकासम्म यातायात बन्दको सम्पूर्ण जानकारी आउछ’, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनवहादुर हमालले भने।

उनका अनुसार हालसम्म लामो दूरीको यातायात सञ्चालनमा मात्र रोक लगाइएको छ। दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा कुनै रोक नलगाइएको बताउँछन्।

कानुनी व्यवस्थाअनुसार २५ किलोमिटरसम्मलाई छोटो र दुई सय ५० किलोमिटरसम्मलाई मध्यम दूरी परिभाषित गरिएको छ। उपत्यकामा चल्ने सार्वजनिक यातायात बन्द गर्ने विषयमा भने कुनै छलफल नभएको महानिर्देशक हमालले बताए।

शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत १० गतेदेखि लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइने उल्लेख गरेका थिए।