८ बैशाख २०८१, शनिबार

यसपटक केही रोचक दृश्य संसदमा बैठकमा, नयाँ दल कस्तो होला पहिलो दिनको संसद अधिवेशन ?

madhav kumar Nepal and mahantha thakur

संघीय ससंदको अधिवेशन आजबाट शुरु हुँदैछ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनभएपछि पहिलो पटक बस्न लागेको संसद अधिवेशनमा विगतमा भन्दा यसपटक केही रोचक दृश्य भने देख्न सकिने छ ।

यसअघि संघीय संसदमा चार वटा राष्ट्रियसहित ७ दलको प्रतिनिधित्व थियो । तर यो अधिवेशनमा दलको संख्या बढेर नौ पुगेको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी अधिवेशनमा नयाँ दलको रुपमा सहभागी हुने छन् । र यी दुवैले राष्ट्रिय दलको हैसियत कायम गरेका छन् ।

विगतमा एकै दलमा रहेर संसदमा सहभागी हुने नेकपा एमाले र जनता समाजवादी पार्टीका सांसदहरु अब छुट्टा छुट्टै आसनमा बस्ने छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सत्तापक्षको आसनमा बस्ने छन् भने नेकपा एमाले सहितका दलहरु प्रतिपक्षको आसनमा बस्ने छन् । संसद सचिवालयले सोही अनुसार व्यवस्था मिलाएको छ ।

यस अघिका संसद बैठकमा एउटै स्वर हुने एमाले र जसपाका सांसदहरु पार्टी विभाजनपछिको अवस्थामा आआफ्नो पार्टीको नीति अनुसार बैठकमा आफ्ना बिषयहरु राख्नेछन् ।

एमालेका सांसदले पार्टी विभाजनदेखि सरकार सञ्चालनका बिषयहरु महत्वका साथ उठाउने छन् , सरकारका काम कारबाहीको आलोचना गर्ने छन् भने एकीकृत समाजवादीका सांसदले सरकारको बचाउ गर्दै आफ्ना भनाइहरु राख्ने छन् ।

संसदको बैठकमा सरकारले विभिन्न विधेयक तथा अध्यादेशहरु प्रस्तुत गर्दैछ । नेकपा एमालेका सांसदले अध्यादेश र विधेयकको विरोध गरे भने एकीकृत समाजवादीका सांसदले ती विधेयक पास गराउन सरकारलाई सहयोग गर्ने छन् ।

जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदलहरु पनि नयाँ दलका सांसदको रुपमा बैठकमा सहभागी हुनेछन् । सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागिता निश्चित नभएका कारण लोकतान्त्रिक समाजवादीले भने गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने छ ।