१२ बैशाख २०८१, बुधबार

रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको परीक्षा सुरु

Smart License

कोरोना महामारीको दोस्रो चरण शुरु भएपछि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा शुरु भएको छ । गत वैशाख १६ देखि बन्द भएको ट्रायल परीक्षा गत आइतबारबाट पुन सुरु भएको हो ।

अनलाइन फारम भरेर लिखित परीक्षा र ट्रायलको प्रतीक्षामा रहेका करिब ३ लाख व्यक्तिहरूले आइतवरदेखि पालैपालो सवारी चालक अनुमति पत्रको परीक्षा दिन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले वैशाखदेखि स्थगित गरिएको परीक्षामा क्रमशः पालो आउने भएकाले सेवाग्राहीले यातायात व्यवस्था कार्यालयको सूचना हेर्न आग्रह गर्नुभयो ।

महानिर्देशक घिमिरेले हाललाई प्रतीक्षामा रहेका व्यक्तिहरूको परीक्षा सकिएपछि मात्र नयाँ सवारी चालक अनुमति पत्रको फारम खुलाउने जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ ‘लिखित परीक्षा दिएर ट्रायलको प्रतीक्षामा रहेकाहरूको सुरुमा ट्रायल हुन्छ, यो सकिएपछि एकैचोटी ट्रायल दिएर फेल भएकाहरूलाई दोस्रो चरणमा ट्रायल दिने व्यवस्था अनुसार यातायात कार्यालयहरूले तालिका सार्वजनिक गरिसकेका छन्’ ।

लाइसेन्स लिन चाहने सङ्ख्या धेरै भएको तर यातायात कार्यालयहरूको क्षमता कमजोर हुँदा यसअघि लाइसेन्स परीक्षाको प्रक्रियामा ढिलासुस्ती हुने गरेको थियो ।

तर अब हुने ट्रायल परीक्षालाई भने पूर्ण क्षमतामा सुचारु गर्ने महानिर्देशक घिमिरेको भनाई छ ।

महानिर्देशक नमराज घिमिरेले काठमाडौँ उपत्यकामा यसभन्दा अघि दैनिक ५ सयदेखि ६ सय जना सम्मले ट्रायल परीक्षा दिइरहेकोमा नयाँ कार्यविधि अनुसार १५ सय देखि २ हजार सम्मले दैनिक ट्रायल दिन सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले काठमाडौँकै चार वटा ट्रायल सेन्टरबाट परीक्षा सञ्चालन गर्दा ३ महिनामा सक्ने योजना रहेको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयहरू जगाती भक्तपुर, एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल र उपत्यका बाहिरा सुर्खेतबाट ट्रायल परीक्षा दिने कार्य शुरु भइसकेको र अन्य ठाउँहरूबाट पनि सुचारु गर्ने तयारी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।