१६ चैत्र २०८०, शुक्रबार

सबैभन्दा ठूलो दल बन्यो ‘नेकपा एकीकृत समाजवादी’ सुदूरपश्चिम प्रदेशसभामा

Madhav Nepald1629968864
फाइल फोटो

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सोमबार थप एक सांसदले नेकपा एकीकृत सामाजवादीमा सनाखत गरेपछि एकीकृत सामाजवादी सबैभन्दा ठूलो दल बनेको हो ।

प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर एमालेको तर्फबाट प्रदेशसभा सदस्य हुनुभएकी माया तामाङ (बोहरा)ले एकीकृत सामाजवादीमा सनाखत गर्नुभएकाे छ । उहाँ एमाले बझाङबाट निर्वाचित समानुपातिक सांसद हुनुहुन्छ । उहाँ नेकपा विभाजन हुनु पूर्व ओली पक्षमा खुल्नुभएकाे थियाे ।

योसँगै प्रदेशमा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएकाे थियाे ।

विगतमा विभाजन अघि माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवर हालसम्म एमालेमै रहनुभएकाे छ ।

यसअघि पहिलो ठूलो दल बनेको नेकपा एमाले विभाजनपछि चौथो दलमा खुम्चिएको छ । सभामुख बाहेक २४ सांसद रहेको एमाले विभाजन पछि १० सांसदमा खुम्चिएको हो ।

प्रदेश संसदमा एकीकृत समाजवादीका १४ सांसदसहित पहिलो, नेकपा माओवादीका १३ सांसदसहित दोस्रो दल, १२ सांसदसहित कांग्रेस तेस्रो, १० सासंद संख्या सहित एमाले चौथो र २ सांसदसहित जसपा पाँचौ दल बनेको छ ।