१६ चैत्र २०८०, शुक्रबार

रहस्यमय बन्दै सुन बरामद प्रकरण – खरिद गरेर ल्याइएको : व्यवसायी, जुत्तामा लुकाएर किन ल्याइयो : प्रहरी

gold mistery1

नेपालगञ्ज विमानस्थलबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको चार किलो काँचो सुनको घट्ना रहस्यमय बन्दै गएको छ ।

प्रहरीले सो घट्ना बारे थप अनुसन्धान भैरहेको जनाएपनि सो सुन काठमाण्डौ विमानस्थलबाट कसरी जहाजमार्फत नेपालगञ्ज पुग्यो र व्यवसायीले वैध तरिकाले खरिद गरेको भए जुत्तामा किन लुकाएर ल्याईयो भन्ने जस्ता प्रश्नहरुको उत्तर नमिल्दा घट्ना रहस्यमय बन्दै गएको हो ।

शुक्रबार दिउँसो काठमाडौंबाट श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जना युवाको शंका लागेर विमानस्थलमा तलासी गर्दा जुत्ताको तलुवामा लुकाएर ल्याएको चार किलो काँचो सुन र अढाई तोला गहना प्रहरीले बरामद गरेको थियो ।

झापा खादुनावारी ६ का अमिरलगुन विश्वकर्मा र मोरङ लेटाङ २ का बुद्धीमान खातीलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको थियो । सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दिन जसगढले सो सुन नेपालगञ्जका तीनवटा प्रतिष्ठित व्यवसायीको भएको भन्दै काठमाण्डौ मैतीदेवीमा रहेका बुद्ध ज्वेलरी वर्कशप प्रालिबाट खरिद गरिएको बिल देखाएपछि घट्ना झन रहस्यमय बनेको छ ।

उक्त सुन नेपालगञ्जस्थित नेपाल ज्वेलर्स, नेपाल आभूषण भण्डार र सन्जित ज्वेलर्सको नाममा खरिद गरिएको संघका अध्यक्ष जसगढले बताउनुभयो । वैध तरिकाले खरिद गरिएको सुनलाई किन जुत्तामा लुकाएर ल्याएको भनि प्रश्न गर्दा उहाँले सो थाहा पाएर आफू पनि आश्चर्यमा परेको बताउनुभयो ।

नेपाल ज्वेलर्स र नेपाल आभुषण भण्डारको नाममा रहेको दुई दुई बिस्कुट सुनको बिलमा भदौ १७ गतेको मिति रहेको छ भने सन्जित ज्वेलर्सको नाममा रहेको १६ गते खरिद गरेको मितीको दुई वटा बिलमा एक एक पिस बिस्कुट उल्लेख गरिएको छ । अढाई तोलाको तयारी गहना बिल भने १८ गतेको मितिमा बुद्धिमान खातीको नाममा काटिएको पाइएको छ ।

उता, बाँके प्रहरीले नियन्त्रणमा लिएको सुन बारे अनुसन्धान भैरहेको जनाउँदै वैध तरिकाले खरिद गरिएको हो भने जुत्तामा लुकाएर किन ल्याइयो भन्ने बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जुत्तामा लुकाएर ल्याउनु पर्ने कारणको खोजी गरिरहेको जनाउँदै सो पत्ता लागेमा उक्त घट्नाको रहस्य खुल्ने बताउनुभयो ।

काठमाण्डौ विमानस्थलको कडा चेकजाँच र दुईवटा एक्सरे मेसिनबाट कसरी सुन जहाजमा पुग्यो भन्ने प्रश्नमा एसपी अधिकारीले सो कुरा पनि रहस्यमय भएकोले त्यस बारेमा पनि अनुसन्धान भैरहेको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको सुन र पक्राउ परेका दुबैजनालाई शनिवार दिउँसो राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो । सो घट्नाको थप अनुसन्धान कार्य राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ ।

शुक्रवार काठमाण्डौबाट आएकालाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दायाँ/वायाँ जुत्तामा सुनको दुई/दुई विस्कुट र बुद्धिमान खातीले लगाएको दायाँ/वायाँ जुत्ताको तलुवामा एक/एक पिस सुनको विस्कुट गरि जम्मा छ थान सुनको बिस्कुट प्रहरीले फेला पारेको थियो ।

यसैगरि बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा थप तिलहरी थान एक, वाला थान एक, गणेश लकेट पाँच थान गहना पनि बरामद भएको थियो ।