११ बैशाख २०८१, मंगलवार

झिलिमिल हुन्छ यो देश भनेर राजनीतिक अस्थिरता भएका बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भएको नेता रावलको दाबी

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएका बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घरघरमा पु¥याउन लागेको पनि उहाँले बताउनुभयो । उहाँले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशीकरणको बाटोमा पु¥याइँदैछ । नेपाललाई पराधिन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरुले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नभएको उहाँले उल्लेख गर्नुभयो । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उहाँले बताउनुभयो ।

एमसिसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘रेडियो, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ । कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभाछ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ । यो सम्झौता असमान छ । सार्वभौमिक समानताको सिद्धान्त अनुरुप छैन । यसका कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतमाथि हमला गर्छ । नेपालको स्वाधिनता र स्वतन्त्रतामाथि आँच पु¥याउने कुराहरु छन् ।’

उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताको विरोध गरे जेल चलान गर्ने भनि सूचना गरेको भन्ने आरोप लगाउँदै आफुले एमसीसीलाई राष्ट्रघाती भनेको आधारमा पक्राउ गर्न चुनौती पनि दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो लोकतन्त्र हो की के तन्त्र हो ? कि शेरबहादुरजीले अर्कै तन्त्र ल्याइसक्नुभयो ? मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ५० दिन भैसक्यो लाजपनि मान्नुपर्ने, उहाँ के सूचना जारी गराउनुहुन्छ भने मिलेनियम च्यालेन्जसँग गरेको सम्झौता बारे कोही बोले, त्यसको विरोध गरे जेल चलान गरिनेछ । म शेरबहादुर देउवाजीलाई नेपालको एउटा देशभक्त नागरिकको हैसियतले चुनौतीका साथ भन्छु मिलेनियम च्यालेन्ज राष्ट्रघाती सम्झौता हो । मलाई गिरफ्तार गर । गृहमन्त्रालय आउ मलाई पक्रेर लग । आट गर्छौ भने तिमी देशघातीहरुले यो सम्झौताको लागि नेपाली जनतालाई धम्क्याएर देशभक्त नेपाली जनता धम्किदैनन् । यो निरंकुशतन्त्र होइन । नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो । तिम्रो धम्कीको कुनै मूल्य छैन । तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीबाट कुल्चिदिन्छु ।’

उपाध्यक्ष रावलले सरकार गठन भएको ५० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन नसक्नु वर्तमान सरकारको अयोग्यता र भागबन्डाको राजनीतिको विकृतिको नमूना भएको उल्लेख गर्नुभयो । उहाँले जयसिंह धामी प्रकरणमा परराष्ट्र मन्त्रालय र स्वयम् प्रधानमन्त्री पनि बोल्न नसकेको भन्दै आफ्नो राष्ट्रको हक, अधिकार र स्वाधिनताको अपमान हुँदा बोल्न नसक्ने मान्छे योग्य नागरिक पनि नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारको सबभन्दा पहिलो कर्तव्य देशको रक्षा गर्ने हो । जनताको सुरक्षा गर्ने हो । आज ५० दिन नाघिसक्यो सरकारले पूर्णता पाएको छैन । अनि विगतको भन्दा हामीले नयाँ ढंगले जनतालाई आश्वस्त पार्छौै, एउटा नयाँ दिशातिर लैजान्छौँ भनेको यही हो त ? ५० दिनसम्म सरकारले पूर्णता नपाउने, यो अयोग्यता, भागबन्डाको विकृतिको नमूना हो ।’

उहाँले अहिले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर भारतीय हेलिकप्टर दार्चुलामा उडिरहेको विषयमा सरकार मौन रहेको बताउनुभयो । राष्ट्रको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि भारतले धावा बोल्दा पनि सरकार चुप लागको भन्दै उहाँले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सिमा बस्ने अधिकार नभएको बताउनुभयो ।