१५ चैत्र २०८०, बिहीबार

तयार भयो सुक्खा बन्दरगाह चोभारमा, विशेषता यस्ता छन्

bandarga

चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले एक अर्ब ६० करोड लगानीमा ५ सय कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टिन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टिनको लागि तीन वटा भवन निर्माण गरिएको छ ।

यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन वटा गोदाम तयार भएका छन् । उक्त बन्दरगाहमा एक्जिम (आयात–निर्यात) क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ । जसमा पहिलोलाई आयात–निर्यातका लागि प्रयोग गरिने जनाइएको छ । सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टिनलगायत काम हुनेछ ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्याइएको छ । सो क्षेत्रमा व्यवसायीले ल्याएका सामान ‘अनलोड–अफलोड’ गर्ने, गोदामघरमा भण्डारण नगरी लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्याइएको हो ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार बन्दरगाह प्रवेशका लागि तीन द्वार निर्माण गरिएको छ । जसमा एउटा मूख्य द्वारबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिन्छन् । तर, बीचमा छुट्याइएको एक गेटबाट भने जुन कुनै आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

    सम्बन्धित समाचार...