१३ बैशाख २०८१, बिहीबार

सवारीचालक अनुमति परीक्षा पास गरेका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन शुरु

Smart License

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाइ रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।

उहाँले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने बताउनुभयो ।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम शुरु हुने पनि बताउनुभयो । उहाँले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकाले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताउनुभयो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि छ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्सको लागि आवेदन अनलाइनबाटै लिने गरेको छ ।