१३ बैशाख २०८१, बिहीबार

डा.शेखर कोइरालाको अपिल : महाधिवेशनबाट पार्टीभित्रको ‘गुट र गिरोह’ समाप्त पाराैँ

shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वडा अधिवेशन सुरु हुँदै गर्दा कार्यकर्तामा अपिल गरेका छन् । कांग्रेस कम्युनिस्टभन्दा कमजोर हुनुको कारण गुट र गिरोह भएको भन्दै उनले त्यसलाई समाप्त पार्न अपिल गरेका हुन् ।

शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपिल जारी गर्दै नेता कोइरालाले महाधिवेशनले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्ने उल्लेख गरे ।

“हामीले विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौँ । यही कारण आम निर्वाचनमा कम्युनिस्टभन्दा कमजोर हुन पुगेका हौँ,” कोइरालाले भने,“कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणका लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४औँ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सपलिभूत हुनुपर्ने छ ।”

उनले महाधिवेशनसमेत समयमा हुन नसकेको भन्दै त्यसको दोष कसैलाई दिनेभन्दा आगामी दिनमा यस्तो परिस्थिति आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । “विभिन्न कारणले गर्दा कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा, हामी यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेका हुन्थौँ,” कोइरालाले भनेका छन्,“कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्नँ । यति मात्र भन्छु–कांग्रेसको महाधिवेशन विधान र संविधानभन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सबैको हो, कांग्रेसजनको हो ।”

उनले महाधिवेशन ‘उत्सव’का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताएका छन् । “महाधिवेशन उत्सवको रुपमा हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी ओलकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घचघच्याइरहेको छ,” कोइरालाले अपिलमा भनेका छन्,“महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरु गम्भीरतापूर्वक मनन् गर्नु नै हुने छ ।”

उनले महाधिवेशनलाई जित र हारभन्दा माथि राख्न उनले सुझाव दिएका छन् । कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको उल्लेख गर्दै नेता कोइरालाले पार्टीको संगठनात्मक ढाँचाको विस्तारसँगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नरहेको बताए ।

उनले महाधिवेशनमा हुने सामान्य गल्ती–कजोरीले कांग्रेसको इतिहासलाई अन्याय हुने भन्दै ती कमजोरीले कांग्रेसलाई भावी पुस्तामा असान्दर्भिक बनाउनेतर्फ सचेत गराएका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौँमा हुँदै छ ।