८ बैशाख २०८१, शनिबार

कानुन मन्त्री कार्की र ओलीबीच भेट: स्थिरताको लागि एमाले–कांग्रेस सहकार्यबारे बहस सुरु

PM KP Sharma Oli and Karki

सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार र एमसीसीको सकस बढिरहेका बेला एमाले र कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको बहस सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लामो छलफल गरे लगत्तै एमाले पंक्तिमा पनि यसबारे बहस सुरु भएको हो ।

एमाले केन्द्रीय सदस्य तथा सांसद झपट रावलले कांग्रेस र एमालेबीच सहमति गरेर राजनीतिमा अपराधिकरण रोक्न प्रदेश र संघ सरकारमा गठबन्धन गर्दै स्थायित्व सुनिश्चित गर्नुपर्ने विषयमा बहस सुरु भएको बताए ।

उनले भने, ‘लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता एमाले र कांग्रेस एक ठाउँमा उभिएर समीक्षा गरौं ।’ अहिलेका अस्थिरता,सांसद किनेबेच र अपराधिकरणलाई रोक्नका लागि प्रदेशदेखि संघ सरकारसम्म एमाले र कांग्रेसले सहकार्य गरियो भनेमात्र व्यवस्था बलियो हुन्छ । उनले यो कुरा आफूले पार्टी नेताहरुसँग राखेको र कांग्रेस तथा एमालेका एक तहका नेताहरुबीच पनि छलफलमा रहेको बताए । अहिले एमाले विभाजनका कारण सबै प्रदेशमा अस्थिरता आएको र मन्त्री बन्नका लागि माफियाहरुले किनबेचको खेल सुरु गरेको भन्दै उनले एमाले र कांग्रेसबीच सहकार्य भए त्यस्ता शक्ति पाखा लाग्छन् ।

रावलले भने, ‘चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गरौंला तर प्रदेश र संघमा स्थायित्व दिनका लागि हामीले समिक्षा गरौं । नत्र मन्त्री बन्नका लागि मोलमोलाइ गर्ने,दल विभाजन गर्ने र माफिया अपराधीले राज्यसत्ता कब्जा गर्ने अवस्था आउन थाल्यो । कम्तिमा सबै प्रदेश र संघमा अस्थिरता अन्त्य गरौं ।’