१३ बैशाख २०८१, बिहीबार

सभापतिमा लड्ने गोपालमान श्रेष्ठको घोषणा, भन्छन् : मेरो जित सुनिश्चित छ

Gopal Man Shrestha
फाइल फोटो

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेको नेता गोपालमान श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

श्रेष्ठनले बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गृहजिल्ला स्याङ्जामा अगुवा कार्यकर्ता भेला गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । “जिल्लाका आफ्ना कार्यकर्ताको चाहना अनुसार जिल्लाबाट उम्मेदवारी घोषणा गरेको हुँ,” श्रेष्ठले भने,“सभापति जित्ने गरी नै उम्मेदवारी दिएको हुँ । विजयी हुने सुनिश्चित छ ।”

श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिछन् । देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गरेका थिए ।

संस्थापन समूहमा रहेका श्रेष्ठ संगठन विभागका प्रमुख हुन् । सोही समूहबाट उपसभापति विमलेन्द्र निधिले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

२०७२ सालमा भएको १३औँ महाधिवेशनमा श्रेष्ठ र निधि दुवैले देउवा नै सभापतिको उम्मेदवारका रुपमा समर्थन गरेका थिए । तर, यसपटक श्रेष्ठ र निधिले सभापतिमा देउवालाई साथ नदिने अवस्था देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफू नै एक कार्यकाल सभापति उठ्ने पक्षमा छन् । देउवाले आफूनिकटलाई फेरि सभापतिमा उठ्ने बताएपछि उनलाई लामो समयदेखि साथ दिँदै आएकाहरुले धमाधम सभापति उठ्ने घोषणा गरिरहेका छन् ।

श्रेष्ठ देउवाकै सहयोगमा आफू सभापति उम्मेदवार उठ्न लागेको दाबी गर्छन् । “उहाँ (देउवा)ले धेरै पटक मलाई सहयोग गर्ने भनिसक्नुभएको छ,” उनले भने,“मसँग कुरा गर्दा उहाँ गोपालमानजी मैले छोड्ने बेला तपाईंलाई नै छोड्ने हो भन्दै पनि आउनुभएको छ ।”

नेता श्रेष्ठले आफूले यसअघि सभापति देउवाको कार्यवाहक भएर काम गरिसकेको स्मरण गर्दै कारागारमा भएका बेला उनलाई सभापति बताएको पनि बताए ।

“मैले उहाँको कार्यवाहक भएर काम गरिसकेको छु । उहाँ जेलमा हुनुहुन्थ्यो । त्यो बेला अधिवेशन गरेर मैले ११औँ महाधिवेशनमा उहाँलाई सभापति बनाएको हुँ,” श्रेष्ठले भने,“१०, ११, १२ र १३औँमा म उहाँसँगै छु । अब १४औँमा पनि सँगै हुन्छौँ ।

संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा.शेखर कोइराला, सुजता कोइरालाले सभापतिको दाबी गर्दै आएका छन् । सोही समूहबाट अर्जुननरसिंह केसी र डा.रामशरण महतले एकल व्यक्तिमा सहमति हुन नसके आफ्नो पनि उम्मेदवारी दिने बताएका छन् ।

तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला सभापतिका आकांक्षी हुन् । उनले औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा भने गरेका छ्रैनन् ।

    सम्बन्धित समाचार...