१६ चैत्र २०८०, शुक्रबार

उद्धार भएका नौ जना अफगानिस्तानबाट काठमाडौं आइपुगे

return home

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८४७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज अपराह्न प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरिएको छ ।