११ बैशाख २०८१, मंगलवार

दश सांसदले एकीकृत समाजबादी रोजेपछि समीकरण सरकारको बहुमत गुम्यो

Pradesh 1

प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको छ ।

माधबकुमार नेपाल समूहमा आवद्ध रहँदै आउनुभएका सांसदहरुले बुधबार दिउँसो प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एमालेबाट बिभाजित भएर बनेको नेकपा(एकीकृत समाजवादी) रोज्नुभएको हो ।

प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यत्रय राजेन्द्रकुमार राई, गणेश काङ्माङ, कृष्णकुमारी राई, प्रदेशसभा सदस्यहरु राजन राई, उपेन्द्र घिमिरे, सरिता थापा, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सावित्राकुमारी रेग्मी, र सुनिता चौधरीले नयाँ पार्टीमा आवद्ध हुन चाहेको भन्दै सनाखत गर्नुभयो ।

नयाँ पार्टीमा अवद्ध भएको भन्दै निर्वाचन कार्यालयमा सनाखत गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले एमाले नेता भीम आचार्यको नेतृत्वमा बनेको प्रदेश सरकारले बहुमत पुष्टि गर्न नसक्ने बताउनुभयो । दल विभाजन भएको र बिभाजित दलसहित विपक्षी पार्टीहरु गठबन्धनमा रहेका कारण गठबन्धनको तर्फबाट छिट्टै नयाँ सरकार बन्ने नेता राईले बताउनुभयो ।

उहाँले बहुमत गुमाइसकेका कारण नैतिककाका आधारमा मुख्यमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने बताउनुभयो । ‘उहाँहरुको सरकारले बहुमत गुमाएको छ त्यसैले आशा गरौं मुख्यमन्त्रीले पदबाट राजीनामा गर्नुहुनेछ,’ नेता राईले भन्नुभयो ‘हामी केही दिन हेछौं र २३ गतेपछि पनि राजीनामा गर्नुभएन भने गठबन्धनमा सल्लाह गरेर आगामी प्रक्रियामा अघि बढ्छौं ।’ सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने वाध्यकारी व्यवस्था भएको हुँदा त्यति समय पर्खन पनि गाह्रो नभएको उहाँले बताउनुभयो ।

सरकार बनेको एक हप्तामै संकट निम्तियो

नेकपा एमालेका १० जना सांसदले विभाजित बनेको नेकपा एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । भदौ १० गते नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य १६ गतेकै दिन अल्पमतमा पर्नुभएको हो ।

प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएलगतै मुख्यन्त्री भीम आचार्यले पार्टी विभाजन रोकेर एमाले नेतृत्वको सरकारलाई स्थायित्व दिनका लागि मुख्यमन्त्री बनेको प्रतिकृया दिनुभर्एको थियो । तर, उहाँले एमाले नेतृत्वको सरकारमा बहुमत कायम राख्न सक्नुभएन ।

९३ सदस्यीय प्रदेशसभामा ५१ सांसद रहेको एमालेबाट १० जनाले नयाँ पार्टी रोजेपछि अब ४१ जना सांसदमात्र एमालेमा रहनुभएको छ । सरकारले बहुमत कायम राख्न ४७ जना सांसद आवश्यक हुन्छ । उता विपक्षी गठबन्धनमा भने बहुमत पुग्ने देखिएको छ ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्ञ्चका एक जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले कुन पक्षलाई सहयोग गर्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

पत्रकारसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले गठबन्धनमा आवद्ध दलहरुबीच छलफल पछि आगामी सरकारको बारेमा टुंगो लगाइने बताउनुभयो ।

गठबन्धनमा रहेका दलहरुले अन्य प्रदेशमा मुख्यमन्त्रीको रुपमा सरकारको नेतृत्व गरिसकेको तर एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व नगरेको अवस्थामा आफ्नो दलको दावी रहने बताउनुभयो । यद्यपी सरकारको नेतृत्वकै लागि गठबन्धनको भावना विपरित आफू नजाने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल गरेर प्रदेशमै नेतृत्व टुंगो लगाइने नेता राईले जानकारी दिनुभयो । उहाँले भदौ २३ गतेपछि मात्र आगामी सरकारको विषयमा छलफल अघि बढ्ने जानकारी दिनुभयो ।