७ बैशाख २०८१, शुक्रबार

मिर्गौला दान काका–ससुराबाट पनि लिन सकिने सर्वोच्चको फैसला

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने व्यवस्था गरेको छ ।

मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।

झापाकी एक बिरामीका तर्फबाट दायर भएको मुद्दामा सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला दान लिनसक्ने फैसला सुनाएको हो ।

झापाको भद्रपुर नगरपालिका–१० की गीताकुमारी भण्डारीले उनका काका ससुराको मिर्गौला उनको मञ्जुरीमा प्रत्यारोपणका लागि चिकित्सकीय सहमति माग गर्दा प्रचलित मानव शरीरको अंक प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो शंसोधन, २०७२)को दफा २ को खण्ड (ठ)को कानुनी व्यवस्था बमोजिमको नजिकको नातेदार नभएको भन्दै सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण गर्न मानेको थिएन ।

अदालतले नेपालको संविधानको धारा १६ ले जीवनरक्षालाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै फैसलामा भनिएको छ– ऐन/कानुनले मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिद/बिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ ।

त्यसैले बुहारीको जीवनरक्षा गर्न मिर्गौला दिने काका ससुराको मञ्जरी भएको भन्दै मिर्गौला दान गर्ने बाटो अदालतले खोलिदिएको हो ।