१३ बैशाख २०८१, बिहीबार

झुटा अफवाह फैलाउनेलाई कानुनी कारवाहीको प्रावधान

NEPAL POLICE

अहिले कोरोनाको महामारीका कारण सबै त्रासमा रहेका बेला अहिले सामाजिक संजाल फेसबुकको मेसेन्जरमा र अन्य माध्यमबाट एक जना पुरुष व्यक्तिको आवाज अफवाह फैलाउने गरेको पाइएको छ ।

यसैबीच शनिबार बिहान एक व्यक्तिले अडियो मार्फत काठमाडौँका अस्पतालमा कोरोना संक्रमण देखिएको र कैयौको मृत्यु भएको भ्रामक अडियो भाइरल भएको थियो । प्रहरीले यस अडियो प्रकरणको छानबीन थालेको बताएको छ ।

यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ

७०. झुट्ठा अफबाह फैलाउन नहुनेः

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
“विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व नबिर्सौं”

अहिले विपदको समयमा एक सचेत नागरिकले आफ्नो सामाजिक दायित्व नबिर्सेर यस्ता अफवाहमा नलाग्न सबैमा अनुरोध छ ।