१२ बैशाख २०८१, बुधबार

सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउनुपर्छः मन्त्री कार्की

karki
फाइल फोटो

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताउनुभएको छ ।

बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले आयोगको समय थप गरिएको र आयोगलाई आवश्यक पर्ने स्रोत साधनका लागि पनि सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सांसद रामनारायण बिडारीले व्यक्ति बेपत्ता पार्ने कार्य मानवता विरुद्धको अपराध भएको हुनाले त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिने काममा ढिलाइ गर्न नहुने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले बेपत्ता भएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नुपर्ने र आयोगले जतिसक्दो छिटो न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।