१४ बैशाख २०८१, शुक्रबार

उत्तर काेरियाले आणविक भट्टी पुन: शुरू गरेकाे संयुक्त राष्ट्रसंघकाे दाबी

north korea

उत्तर कोरियाले आफ्नो योङब्योन आणविक भट्टी (न्युक्लियर रियाक्टर) पुनः सुरु गरेकोे संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले बताएको छ ।

द इन्टरन्यासनल एटमिक इनर्जी एजेन्सी (आईएईए)ले जारी गरेको एक प्रतिवेदनमा उत्तर कोरियाले परमाणु रियाक्टर परिसरमा आणविक हतियार बनाउन प्रयोग हुने प्लुटोनियम उत्पादन गरेको जनाएकाे हाे ।

पाँच मेगावाट रियाक्टर सहितका योङब्यान परमाणु परिसर उत्तर कोरियाको परमाणु कार्यक्रमको प्रमुख केन्द्र हो ।आईएईएले सो परिसरको रेडियो केमिकल प्रयोगशालाको बारेमा पनि धेरै विवरणहरू दिएको छ, जुन प्रयोग भइसकेका परमाणु इन्धनलाई पुनः प्रसोधन गर्छ । सो एजेन्सीले ल्याब सञ्चालनको बारेमा यसअघि जुनमा नै ध्यानाकर्षण गराएको थियो।

पछिल्लो प्रतिवेदनले सो प्रयोगशाला २०२१ जुलाईसम्म सञ्चालन भइरहेको बताएको छ । आईएईएले रियाक्टर र प्रयोगशालामा भएको विकास धेरै चिन्ताजनक र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का संकल्पहरूको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँगको निकट सहकार्यमा उत्तर कोरियाको पारमाणविक र क्षेप्यास्त्र गतिविधिको निरन्तर निगरानी गरिहेको योनह्याप समाचार संस्थालाई बताएको छ ।