१२ बैशाख २०८१, बुधबार

राज्य पुनःसंरचना सच्याउन आवश्यक : यादव

jasapa1630246738 68

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताउनुभएको छ । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले  तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताउनुभयो ।

राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उहाँले बताउनुभयो । ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई  भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनर्संरचना गलत हुँदा भएको हो’– यादवले भन्नुभयो । 

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिनुभयो । ‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ’–नेता यादवले  भन्नुभयो ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताउनुभयाे । उहाँले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने यादवले बताउनुभयाे । केपी ओलीले दुई पटक संसद विघटन गरेर संविधानमाथि ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवकाे भनाइ थियाे । प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र, संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताउनुभयाे ।