७ बैशाख २०८१, शुक्रबार

सरकारमा जाने निर्णय गरे सँगै यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

madhav nepal 3 69

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको बताउँदै आएका छन् ।

पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)ले ६÷६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ दिल्लीमा उपचार गराइरहेका नेता खनाल स्वदेश फिर्ता भएपछि उनको समेत सहमतिमा मन्त्रीको नामावली टुंगो लगाउने स्रोतको दाबी छ ।

नयाँ अनुहार प्राथमिकतामा

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ ।

नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन् ।

यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ । त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनोट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।

पटकपटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।

त्यससँगै राष्ट्रिय सभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुवै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना)को छनोट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ ।

तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन । यदि वामदेव गौतमले भौतिक पूर्वाधार मन्त्रालयसहित उपप्रधानमन्त्री स्वीकारे उनलाई पठाइने, अन्यथा गौतमलाई राष्ट्रिय सभा दलको नेता बनाएर मुकुन्द न्यौपाने वा बेदुराम भुषालको नेतृत्वमा सरकारमा पठाउने तयारी एकीकृत समाजवादीको छ ।आजको राजधानी दैनिकमा खबर छ ।