११ बैशाख २०८१, मंगलवार

हिल्साबाट किटसम्म सडक बनेपछि सुरक्षाकर्मीलाई अनुगमनमा सहज

61289140e5967 surakcha

नेपाल र चीनको सिमाना हिल्सादेखि पश्चिम सीमा स्तम्भ रहेको विकट क्षेत्रमा सुरक्षाकर्मीहरुलाई अनुगमन गर्न सहज भएको छ । हिल्साबाट किटसम्म सडक निर्माण कार्य भएपछि सुरक्षाकर्मीलाई सिमास्तम्भहरुको दैनिक रुपमा अनुगमन गर्न सहज भएको हो ।

सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्र भण्डारीले सडक निर्माणसँगै हिल्सामा रहेको सीमा सुरक्षा चौकी ( बिओपी ) का सुरक्षाकर्मीहरुलाई सीमा स्तम्भहरुको अनुगमन गर्न सहज भएको बताउनुभयो ।

सीमा सुरक्षाका लागि गर्त वर्षबाट हिल्सामा बिओपी स्थापना गरिएको हो । चौकीमा सशस्त्र प्रहरी निरीक्षक नीरज केसीले हिल्साबाट किटसम्म सडक निर्माण भएसँगै सीमा स्तम्भहरुको अनुगमन गर्न सहज र छिटो भएको बताउनुभयो ।

यसअघि सडक निर्माण नभएको बेला पहिरोले पुरेको घोरेटो बाटो हुँदा सुरक्षाकर्मीहरुलाई सो क्षेत्रमा जान निक्कै सास्ती खेप्नु पर्ने अवस्था थियो । चट्टानी भीरको बाटोबाट जान सुरक्षाकर्मीले ज्यानको जोखिम उठाएर जानु परि रहेको बेला उहाँले पाँच देखि सात नम्बर सिमास्तम्भहरुको अनुगमन कार्य गर्न दैनिक रुपमा जान सहज भएको बताउनुभयो ।

हिल्साका स्थानीय कर्मा लामाका अनुसार हिल्साबाट किटसम्म सडक निर्माण कार्य सम्पन्न भएको बताउनुभयो । गत पुस महिनाबाट निर्माण कार्य सुरु भएको उक्त सडकको निर्माण कार्य असार महिनामा सम्पन्न हुँदा सर्वसाधारणदेखि सुरक्षाकर्मीहरुलाई आउजाउमा सहज भएको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले सो क्षेत्रको दुई किलो मिटर सडकको निर्माण गर्न पचास लाख रुपियाँ लगानी गर्नु परेको बताउनुभयो । यसका लागि कर्णाली प्रदेश सभामा सांसद जीवन बहादुर शाहीले प्रदेश पूर्वाधार विकास विशेष कार्यक्रमबाट बजेटको व्यवस्था गर्नु भएको थियो ।