१५ चैत्र २०८०, बिहीबार

वीरगञ्जकाे एक कारखानामा विष्फाेट, १५ घाईते, सातको अवस्था गम्भीर

6127b38825d78 birjung blast

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सर्वाेत्तम स्टिल प्रा.लिमा विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाईते भएका छन् भने घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार उद्योगको ग्याँस प्लान्टमा फलाम पगाल्ने भठ्ठीमा ग्याँस लिक भई भठ्ठी विस्फोट भई आगलागी हुँदा कामदारहरु घाईते भएका हुन् ।

घाईते हुनेमा बारा जिल्ला छातापिपराका २२ वर्षीय टिँकु दास र अन्य घाईते भएका भारतीय नागरिकहरुमा भारत विहारका ५२ वर्षीय विनोद पाण्डे , २१ वर्षीय दिपक कुमार , विहारको दरभंगाका १८ वर्षीय रविकुमार दास, विहारको छपराका २२ वर्षीय अवधेश कुमार यादव २२ वर्षीय निकुकुमार यादव , उत्तर प्रदेश लखनउका ५२ वर्षीय सन्तोष कुशवाह , २० वर्षीय सुशिल कुमार , ३७ वर्षीय मानस परिदा , ३० वर्षीय रामपुकार यादव , युपीकै ३८ वर्षीय चिँकु दास , १८ वर्षीय अमरनाथ सहनी , गगन नायक , भारतको खुशीनगरका ३५ वर्षीय धिरु सहनी र भारत सिवानका ३० वर्षीय अरुण कुमार रहेका छन् ।

घाईतेहरु मध्ये विनोद पाण्डे , सन्तोष कुशवाह , सुशिल कुमार , मानसा परिदा , रामपुकार यादव , टिँकु दास र गगन नायकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

गम्भिर घाईतेहरुको टाउको सहित शरीरको अधिकांश अंग जलेको र वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहीबार मध्यान्ह पौने १ बजे भठ्टी विस्फोट भई भएको आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आईसकेको छैन । वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र, वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु, शसस्त्र प्रहरी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।