१६ चैत्र २०८०, शुक्रबार

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका आचार्य

bhim acharaya

सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।

नेकपा (एमाले)का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए ।

विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आएका छन् ।

सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय भएका थिए । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा थिए ।