१३ बैशाख २०८१, बिहीबार

आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी

Sherdhan Rai Bhim Acharya 1

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिनुभएको छ । राईकै प्रस्तावमा एमाले प्रदेश नं. १ का संसदीय दलका नेतामा भीम आचार्यलाई चयन गरेपछि राईले पदबाट राजीनामा दिनुभएको हो।

बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

राईले राजीनामा दिएपछि भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुहुनेछ ।

बिहान ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक शेरधन राई र भीम आचार्य काठमाडौंबाट आउन ढिलो भएपछि विराटनगर विमानस्थल नजिकैको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बसेको थियो ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न आज बिहानै जहाजबाट विराटनगर आएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।