
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले घरघरबाट नेता–कार्यकर्तालाई तानेर रिसोर्टमा थुनेको आरोप लगाएका छन् । बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर राखिएको समेत उनले बताए । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताए ।
एमालेद्वारा बुधबार आयोजित गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताए । उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ ।
सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’ओलीले भने, ‘घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो । मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।’
कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’
ओलीले अगाडि थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’