१५ चैत्र २०८०, बिहीबार

फेरि कडा निषेधाज्ञाको आवश्यकता पर्न सक्छ : स्वास्थ्य मन्त्रालय

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोभिड–१९ संक्रमण बढ्दै गए फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै पछिल्लो समय चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड बढेको र स्वास्थ्य सुरक्षाको मापदण्डलाई बेवास्ता गर्ने गरिएकाले फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने जनाएको हो ।

मन्त्रालयले संक्रमण नियन्त्रणका लागि पहिलेको जस्तै निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन नदिन मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भिडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड इमानदारीपूर्वका पालना गर्न पनि अनुरोध गरेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्मका लागि थपिएको छ । काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।