१३ बैशाख २०८१, बिहीबार

एक हप्तादेखि महाकाली लोकमार्ग अवरुद्ध

6124abb931145 road

दार्चुला सदरमुकाम खलंगालाई तराई तथा प्रदेश र सङ्घीय राजधानीसँग जोड्ने एक मात्रै सडक महाकाली लोकमार्ग एक हप्तादेखि अवरुद्ध छ । भाद्र २ गते महाकाली नगरपालिका–९ बेतको चुन्या भिरमा पहिरो खस्दा बस, ट्रक लगायतका सवारी साधानहरु सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् ।

पहिरोले सडक साँघुरो बनाएकाले सुरुका दिनहरुमा जिप लगायत साना सवारी साधनहरु चल्न सकिरहेका थिए । तर सडक चौडा बनाउन भिर काट्न थालिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बसको यात्रा गरी तराईका जिल्ला तथा काठमाडौँ जाने यात्रुहरु खलंगाबाट दत्तुसम्म जिपमा जाने र पहिरो भन्दा परबाट बसमा जाने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

एक हप्तादेखि सडक अवरुद्ध हुँदा खलंगा बजारमा खाद्यान्न तथा ग्यास लगायत दैनिक उपभोग्य सामान आयातमा समस्या भएको छ । दत्तुसम्म आएको सामान बोकेर पहिरो वारी ल्याई अन्य सवारी साधनमा सारेर ल्याउनुपर्ने अवस्था रहेको छ । खलंगामा रहेका बस र ट्रकहरु एक हप्तादेखि खलंगामै रोकेर राखिएको यातायात व्यवसायी दीपक बडूले बताउनुभयो । सडक अवरुद्ध हुँदा आन्तरिक सवारी साधन तथा जिल्ला बाहिर चल्ने सवारी साधनहरु प्रभावित बनेका छन् । सडक चौडा बनाई खुलाउने प्रयास भइरहेको छ ।

महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकको चुने भिरमा सडक भासिएपछि भीर काटेर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ । कडा चट्टनी भूभाग रहेको उक्त स्थानमा भिर काट्न निकै ढिलाइ भइरहेको प्रहरी निरीक्षक पुष्कर ऐरीले बताउनुभयो ।

जिलेटिज अभावमा स्काइभेटर मेसिनबाट ब्रेकर प्रयोग गरेर भिर फुटाउने काम भइरहेको छ । पहिले देखि नै साँघुरो ठाउँ रहेको बेतस्थित चुने भिरमा सडक भासिएपछि दार्चुलाबाट छुट्ने र जिल्ला भित्रिने सवारी साधन बन्द छन् । सडक निर्माणको काम भइरहेको चुने भिरबाट पैदल हिँडेर पारीबाट सवारीसाधन बदल्दै (पल्टी गरेर) यात्रा गरिरहेका छन् ।

मानिसहरुलाई समेत आवतजावत गर्न अप्ठ्यारो सडकमा यातायातका साधनहरु आवतजावत हुने अवस्था नरहेको स्थानीयहरु बत्ताउँछन् । सडकको तल र माथि भिर भएकोले काम रोकाएर मानिसहरु आवतजावत गरिरहेका छन् ।

ब्रेकरले फुटालेर सडकमा फालेका ढुगांहरुको कारण आवतजावतमा झनै समस्या भएको छ । चुने भिरमा सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताइएको छ । हिँडडुल गर्न समेत विकल्प नहुँदा समस्या भएको छ । मानिसहरुको आवतजावतका लागि पटक पटक काम रोक्नुपर्दा झनै ढिलाइ भइरहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।