१३ बैशाख २०८१, बिहीबार

पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका गुलशन झाले कस्तो खेल्लान अब ?

kusal jhah

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यहि महिना आईसीसी विश्व क्रिकेट लीग टु अन्तर्गत ओमान र अमेरिकासँग एक दिवसीय र त्यस भन्दा अगाडी पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय सिरिज पनि खेल्दैछ ।

यसका लागि भोलि ओमान जान लागेको टोलीमा युवा बलर गुल्शन झा पनि छन् । केही महिना अगाडीसम्म नेपाली क्रिकेटका लागि अपरिचित जस्तै रहेका गुल्शन छोटो समयमै राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् ।

कुनै पनि टोलीको भविष्य त्यहाँको युवा खेलाडीमा निर्भर हुन्छ । युवा खेलाडीलाई अहिलेदेखि तयार पार्न सकेमा मात्र बलियो टोलीको रुपमा उदाउन सकिने बुझाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको छ ।

यही कुरालाई ध्यानमा राख्दै यस पटक विश्व क्रिकेट लीग टु अन्तर्गतको सिरिजको तयारीका लागि नेपाली टोलीमा तीव्र गतिका युवा बलर गुल्शन झालाई बोलाइएको थियो । पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा परेका उनले पहिलो प्रयासमै राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सफल भए ।

टोलीको बन्द प्रशिक्षणमा अनुभवी खेलाडीबाट धेरै कुरा सिक्ने मौका पाएको उनले महशुस गरेका छन् । बन्द प्रशिक्षणमा पाएको क्रिकेटको प्राविधिक ज्ञानले आफ्नो प्रदर्शनमा सहयोग पुग्ने उनको विश्वास छ ।

Gulshan jha 68

यसो त उनी नेपाली क्रिकेट दर्शकको नजरमा परेको एक वर्ष पनि भएको छैन् । गत वर्ष फागुनमा भएको काठमाडौं मेयर्स कप एक दिवसिय प्रतियोगितामा उनले पहिलो पटक अन्य खेलाडी र दर्शकको ध्यान आफूतर्फ तान्न सफल भएका थिए ।

यसअघि प्रदेश २ बाट खेलेका गुल्शन मेयर्स कपमा विभागीय टोली नेपाल पुलिस क्लबबाट मैदानमा उत्रिएका थिए । स्वास्थ्य समस्याका कारण प्रतियोगिताको सुरुवाती खेल खेल्न नपाए पनि अन्तिम दुई खेलमा पाएको मौका उनले सदुपयोग गरे ।

काठमाडौं मेयर्स एघारबाट खेलेको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि फाइनलमा पुलिसलाई उपाधि दिलाउन उनले शान्दार प्रदर्शन गरे । एपिएफविरुद्ध धारिलो बलिङ गर्दै उनले ७ ओभरमा ३६ खर्चिएर ४ विकेट लिए । उनी फाइनलको म्यान अफ द म्याच पनि घोषित भए ।

उनको त्यस प्रदर्शनले प्रशिक्षक डेभ ह्वाटमोरलाई पनि प्रभावित बनायो । र यही महिना हुने विश्व क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि उनलाई प्रशिक्षणमा बोलाए ।

यसअघिनै राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु अन्तिम छनोटबाट टोली बाहिर पर्दा उनी भने पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा देखिँदैछन् । ओमानमा हुने खेलमा आफ्नो शतप्रतिशत क्षमता देखाउने र कुनै दबाब महशुस नगरेको उनले बताए ।

सर्लाहीको मलंगवाका गुल्शन ५ वर्ष अघि क्रिकेट सिक्नकै लागि भारतको झारखण्डमा गए । त्यहाँ रहेको अरुणोदय क्रिकेट एकेडेमीमा चार वर्ष बसेपछि उनी गत वर्ष नेपाल आएका हुन् । घरेलु प्रतियोगिता खेलेको छोटो समयमै राष्ट्रिय टोलीसम्मको यात्रा आफैमा निकै उत्साहजनक छ ।

१७ वर्षीय गुल्शनको बलियो पक्ष भनेकै तीव्र गति र बाउन्सर हो । यसका लागि उनले आफ्नो उच्च शारिरीक कदको भरपुर उपयोग गरेका छन् । छोटो समयमै उनले जुन आशा र सम्भावना देखाएका छन् त्यसले उनी जस्तै युवा खेलाडीलाई पनि हौसला दिइररहेको छ ।

    सम्बन्धित समाचार...