७ बैशाख २०८१, शुक्रबार

एमाले एकताको पक्षमा लागेहरु निराश, यस्तो छ अबको रणनीति

cpn uml second gen neta

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहितसँग पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्।

अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना लगभग सकिएको बताएका छन्।

पहिले नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटी सदस्यसहितका नेताहरु पार्टीलाई फुटबाट जोगाउने भन्दै नेपाललाई पार्टी विभाजनमा साथ दिएका थिएनन् ।

उनीहरुले एकताका लागि ओलीले दस बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र नेपालसहित १४ सांसदमाथि कारबाही फिर्ता हुनुपर्ने सर्त राखेका थिए। नेपाल एमालेमा रहँदा मात्रै एकता सम्भव हुने उनीहरुको भनाइ थियो। तर, ओली पक्षीय नेताहरुले भने अब माधव नेपालसहित एकताको सम्भावना समाप्त भइसकेको बताएका छन् ।

एकताका लागि प्रयासरत नेताहरुबीच हिजो पनि छलफल भएको छ । उनीहरुले ओलीले नै पार्टी टुक्र्याउन चाहेकाले आफूहरुको प्रयास खेर गएको निष्कर्ष निकालेका छन्।

नेपाल पक्षीय सांसद झपट रावलले ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरेकाले समस्या भड्किएको बताउनुभयो । माधव नेपालले भने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसक्नु भएको छ ।

आयोगले निवेदनको सनाखत गर्न उनीहरुलाई बुधबार बोलाएको छ। आयोगले त्यही दिन दल दर्ताको प्रमाणपत्र दिने सम्भावना छ। त्यसैले अब आफूहरु नेपाल पक्षमा खुल्ने वातावरण बन्दै गएको उनीहरुको भनाइ छ ।