१३ बैशाख २०८१, बिहीबार

तालिवानको कब्जापछि के हुदैँछ अफगानिस्तानमा

taliban

अफगानिस्तानको सत्ता तालिवानको हातमा पुगेपछि मुलुक छाड्न चाहनेको संख्या बढ्न थालेको छ । विमानस्थल र सिमा नाकाबाट बाहिरिनेको संख्या बढेको छ ।

केही पश्चिमा मुलुकबाहेक अरुले विस्थापित अफगानीलाई शरण दिने बताएका छैनन् । यस्तो बेला भारतसँगको खुला सिमाना र सहज पहुँचका कारण अफगानिस्तानबाट विस्थापितले नेपाललाई पनि सुरक्षित स्थल बनाउन सक्ने देखिँएको छ ।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुल कब्जा गरेको एक साता बितेको छ। गत आइतबार तालिबान लडाकुहरू बाहिरका सबै प्रान्तीय राजधानी कब्जा गरेपछि काबुल पसेका थिए ।

तालिबानहरू काबुल पसेकै दिन तत्कालीन राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए। काबुलमा अमेरिकासमर्थित सत्ता अचानक ढलेपछि अफगानिस्तानमा अब के हुने हो भन्ने अनिश्चितता बढेको थियो ।

तालिबानहरूको कट्टर शासनको डरले देश छोड्न चाहने अफगानहरूको काबुलस्थित हमिद कारजाई विमानस्थलमा लर्को लागेको थियो जुन अहिलेसम्म जारी छ।कर्मचारीहरू काममा नफर्किएकाले बैंकहरू एक सातादेखि बन्द छन् भने एटिएम मेसिन खाली भएका छन् ।

राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिबानहरूले सबै अफगानीहरूलाई आममाफी दिइएको घोषणा गरेको थिए। तालिवानीले नयाँ सरकार गठनको तयारी गरे पनि गठन भएको छैन ।

शनिबारमात्रै तालिबानमा सहसंस्थापकसमेत प्रभावशाली नेता मुल्लाह अब्दुल घानी बारादार काबुल पुगे । उनको काबुल प्रवेशसँगै नयाँ सरकार बनाउने प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। यसअघि तालिबानका अन्य नेताहरूले काबुलमा पूर्वराष्ट्रपति हमिद कारजाई र राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका अध्यक्ष अब्दुल्लाहसँग भेटेका छन् ।

तालिबानहरूले सबै अफगानहरूलाई मान्य हुने समावेशी सरकार बनाउने प्रयास गरिरहेका छन्। तालिबानका एक जना प्रवक्ताले त्यस्तो सरकार छिट्टै बन्ने बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।

तालिवानको कब्जापछि आफनो भूमि असुरक्षित भएको भन्दै देश बाहिर जाने अफगानिको संख्या बढ्न थालेको छ । अफगानीहरु पश्चिमा मुलुक मात्रै होइन नेपाललाई पनि गन्तव्य बनाउन सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

अफगानिस्तानमा सृजना भएको परिस्थिति कुटनीतिक र सुरक्षा दुवै हिसाबले सिधा नेपालसंग जोडिन्छ । सार्कको अध्यक्ष राष्ट्र भएकोले पनि नेपालले अफगानिस्तानको घटना र तालिवान सत्ताबारे सदस्य राष्ट्रहरुसँग छलफल गर्दै सुरक्षा संवेदनसिलतामा थप सतर्कता अपनाउन जरुरी छ ।