१३ बैशाख २०८१, बिहीबार

किन बाँधिन्छ हातमा रक्षा बन्धन ?

Raksha Bandhan

आज भाद्र शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष महिना, बार र गते फरक–फरक हुने गर्दछ ।

परम्मपरा र हिन्दु संस्कार अनुसार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा पछिल्लो दिनमा मनाइने प्रचलन रहेकोले ५ गते आइतबार रक्षा बन्धन मनाइन लागिएको हो ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

यसको अर्थ
जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा वलीलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणहरुलाई बचाउँन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजालाई बाँधी देवगणहरुको रक्षा गरेका थिए त्यसनै म तिमीलाई बाँध्छु, सुरक्षित होऊ, बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आज पनि रक्षा बन्धन बाँध्ने प्रचलन चलि आएकोछ ।

सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठापूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाँधिएको थियो त्यसैगरि आजपनि दानवी शक्तिबाट रक्षित हुन वा हामी आफ्नो मन विचलित नहोस्, सधै सत्कर्ममा मन गइरहोस्, विधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस् भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाँध्ने गर्दछौँ ।

आज लगाइने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिदिनाले मृत्यु पश्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेको छ ।