७ बैशाख २०८१, शुक्रबार

क्वाँटी खाने दिन आज, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

kuwati

आज जनैपूर्णिमा। काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो।

क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ। पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ।

क्वाँटी विभिन्न एघार किसिमका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर तयार गरिन्छ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।

क्वाँटी विशेष गरि नेवारी परिकार हो। नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो। क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।

बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

क्वाँटीबाट ‘कम्प्लिट प्रोटिन’ अथार्त पूर्ण प्रोटिन पाइने पोषणविद् बिनिता पन्त बताउनुहुन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुन्छ।

मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा गर्छ। तर प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्‍याउनुपर्ने हुन्छ।

क्वाँटी कसरी बनाउने

क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन्। कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन्। कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन्। यसमध्ये हामीले शाकाहारी क्वाँटी बनाउने तरिका दिएका छौ।

आवश्यक सामाग्री

टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम
ज्वानो– १० ग्राम
सुप– ५ ग्राम
तोरी– ५ ग्राम
करी पाउडर– ५ ग्राम
काटेको/पिनेको लसुन– १० ग्राम
काटेको/पिनेको अदुवा– १० ग्राम
ताजा हरियो/ रातो खुर्सानी– ५ ग्राम
बेसारको धुलो– ५ ग्राम
काटेको प्याज– २० ग्राम
काटेको गोलभेडा– ४० ग्राम
नुन -स्वाद अनुसार
काटेको हरियो धनियाँ– ५ ग्राम
क्वाँटी तयार गर्ने तरिका

दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस्

प्रेसर कुकरमा तेल तताउनुहोस्।

तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस्। एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो/हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस्।

अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस्।

करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।

केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस्।

ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।

क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकिन्छ। साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ।