१३ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री शाक्यले भनिन्–मैले नेपाललाई धोका दिएको होइन, म एकताकै पक्षमा छु

Astha Laxmi Shakya
फाइल फोटो

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नु भएको छ ।

उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वाससमेत व्यक्त गर्नु भयो ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनु भयो ।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरी दिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ ।’

मुख्यमन्त्री शाक्यले भन्नुभयो–‘मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढनेछ ।

त्यसका लागि १० बूँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नुभयो भने स्थिति उथलपुथल हुन्छ । त्यसो भएको हुनाले पार्टीलाई कमजोर बनाउने काम नगरौं ।’

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो । उहाँले निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढदा नै प्रदेश सरकारले राम्रो काम गर्न सक्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री शाक्यले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि बताउनु भयो ।