१५ चैत्र २०८०, बिहीबार

मृत आमा धर्मकुमारीको दुनियाँ रुवाउने बसयात्राको तस्बिर, मृत आमाको काखमा सुतिरहेको एक बालक

Dharma kumari

सामाजिक संजालमा मृत आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ ।

उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराको । बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निधन भएको थियो । त्यसपछि काखमा रहेको उनको छोरा बसको सिटबाट खसेर रोएपछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाएछन्, उनी मृत भइ सकिन् भनेर ।

स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसित थिइन् । उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराए पनि सन्चो नभएपछि श्रीमानसँग सल्लाहमै उपचारको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान नेपालगन्जमर् कार्यरत रहेको बताइएको छ ।सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्जतर्फ हिँडिन् ।

काखमा ३२ महिनाको छोरा थियो । छोरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बोकेर हिँडिन् । उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनको उपचारको लागि बोलाएका थिए ।

स्थानीयका अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यवस्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो । यात्राकै क्रममा पटक-पटक श्रीमान-श्रीमतीबीच कुराकानी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँगै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनको प्राण गएछ ।

त्यसपछि मृतकको काखको बच्चा सिटबाट झरेर रोएछ । हेर्दा उनको निधन भएको पाइएपछि अन्य यात्रुहरु अत्तालिएका थिए । बच्चा रोइकराइ गरेपछि फकाउनका लागि मृत आमाकै काखमा राखिएको थियो ।

उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हो । बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभिन्न अस्पताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृत घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकुमारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।

    सम्बन्धित समाचार...