१३ बैशाख २०८१, बिहीबार

एकताको सबै ढोका बन्द गरेपछि विद्रोह गरेको नेपालको प्रष्टिकरण

madhav nepal
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकताका सबै ढोका बन्द गरेपछि बाध्य भएर विद्रोह गरेको दावी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष नेपालले एमालेबाट अलग भएर नयाँ पार्टी खोल्नुलाई बाध्यता र विद्रोह भन्नुभएको हो । नेपालको कम्यूनिष्ट पार्टी कब्जा गर्ने र समाप्त गर्ने कोशिस भएपछि बाध्य भएर एमालेलाई पूनर्गठन गरी नेकपा एकीकृत समाजवादी बनाएको नेपालले बताउनुभएको छ ।

नयाँ पार्टीलाई सहयोग प्राप्त हुने नेपालको अपेक्षा छ । अध्यक्ष नेपाललाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ पार्टी गठनमा साथ दिनुभएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले नेता नेपाललाई साथ दिने निर्णय जानकारी दिनुभएको हो ।

खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को साथ र समर्थनमा रहेको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका अध्यक्ष नेपालले अहिले नयाँ दलमा साविक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका, विद्रोहका पक्षमा हस्ताक्षर गर्ने र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि नेपालले बताउनुभएको छ ।

एकीकृत समाजवादीमा केन्द्रीय कमिटी ९५ सदस्यीय बनाइएको छ । राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने अध्यक्ष नेपाल जानकारी दिनुभएको छ ।