१६ चैत्र २०८०, शुक्रबार

दबाव दिँदै एमाले सांसदको घेराउ, निष्कासित १४ जनालाई पदमुक्त गर्न दबाब

1 3

एमालेले आज पनि संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्नि सापकोटालाई दबाब दिएको छ ।

आज कार्यालय समय शुरु हुनासाथ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

एमाले सभामुखले पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।

कारबाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो । एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए ।

आफूहरुले कानूनले भने बमोजिम गर्न सभामुखको ध्यानाकर्षण गराउन खोजेको बास्कोटाले बताए । यसअघि माओवादी र सजपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको नजिर एमालेले देखाएको छ ।