१२ बैशाख २०८१, बुधबार

‘मैले अध्यक्ष हैसियतले लचकता अपनाएँ, तर नेपालको दम्भले दिएन : अध्यक्ष ओली

kp oli 4 68
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् । माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् । ‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट केही अलग हुँदैमा एमाले सिद्धियो भनेर भन्न मिल्दैन ।’

नेपालले विपक्षीसँग मिलेर आफ्नै पार्टी सिद्ध्याउन लागेको ओलीको आरोप छ । ‘उहाँ (नेपाल) ले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीलाई कमजोर बनाउ लाग्नुभयो,’ ओलीले भने, ‘तर पार्टी कमजोर बनेको छैन । यस्ता गतिविधिले मुलुककै प्रमुख पार्टीलाई हल्लाउन पनि सक्दैन ।’

‘नेपालले नमान्दा पार्टीमा अन्तरकलह पैदा भयो’

नेपालले आफूलाई २ वर्षयता फोन नगरेको बताउँदै ओलीले भने, ‘मैले पटक–पटक भेटौँ भनेर फोन गरेँ, म बालुवाटार आउँदिनँ भन्दैगर्दा तपाईंकै ठाउँमा आएर भेट्छु भनेर गएँ । तर उहाँले नमान्दा पार्टीमा यस्तो भयो ।’

आफूले पार्टी एकता बचाउनको लागि सक्दो लचकता अपनाएको ओलाको भनाइ छ । ‘मैले अध्यक्ष हैसियतले लचकता अपनाएँ,’ ओलीले भनेका छन्, ‘उहाँको दम्भले दिएन । मलाई भेट्नुभएन । पार्टी अन्ततः यस्तो भयो ।’

‘मैले कहिल्यै बेइमानी गरिनँ’

ओलीले आफूले कहिल्यै बेइमानी नगरेको दाबी गरेका छन् । ‘माधव नेपालजस्तो बेइमानी मैले कहिल्यै गरिनँ,’ ओलीले भने, ‘कतै अस्वस्थताको प्रतिस्पर्धा गरिनँ । म र मेरो पार्टी सधैं देश र जनताका लागि खटिरहने पार्टी हो । म र मेरो पार्टी बेइमानीबाट टाढा छ ।’

आफ्नो पार्टीविरुद्ध नेपालले विश्वासघात गरेको ओलीको आरोप छ । ‘त्यस्तो खालको राजनीतिक प्रवृत्तिले देशलाई अस्थिरतातर्फ लान्छ ।’

‘सरकारले देशको समय बर्बाद गरिरहेको छ’

ओलीले वर्तमान सरकारले देशको समय मात्रै बर्बाद गरिरहेको बताएका छन् । शेरबहादुर नेतृत्वको सरकार बजेट रोकेर निकम्मा बसिरहेको औंल्याउँदै ओलीले भने, ‘यो सरकारले आफ्नो स्पष्ट नीतिबारे बोल्न सक्दैन । अरुले बनाइदिएको राष्ट्रिय आकांक्षाको उच्चरण नै गर्न सक्दैन । यस्तो सरकारले के गर्छ रु यस्तो दिशाहीन सरकारको योजना नै छैन ।’