१३ बैशाख २०८१, बिहीबार

काठमाडौंमा कोभिड जोखिम बढ्दै, सक्रिय सङ्क्रमित चार हजार नाघ्यो

610b7d44763b6 covid kathmandu

काडमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाभाइरसको जोखिम बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि उपत्यकामा कोरोनाको जोखिम उच्च बन्दै गएको हो ।

बुधबारमात्र उपत्यकामा ९९३ जना नयाँ सङ्क्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० जना र भक्तपुरमा १२२ जना सङ्क्रमित भेटिएका थिए ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राजधानीमा दिनहुँजसो सङ्क्रमितको ग्राफ क्रमशः बढ्दैगएको छ ।

काठमाडौंमा मात्र अहिले चार हजार ७८ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाको तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म चार हजार ७८ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।

वडा १ मा ४२ जना, २ मा ५८ जना, ३ मा १५१ जना, ४ मा १८७ जना, ५ मा ७७ जना, ६ मा ३०४ जना संक्रमित छन् । त्यस्तै, वडा ७ मा २७५ जना, ८ मा ३२ जना, ९ मा ७४१ जना र वडा १० मा २०८ जना सक्रिय सङ्क्रमित रहेको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै वडा नम्बर ११ मा २५० जना, १२ मा १९ जना, १३ मा १७६ जना, १४ मा ११० जना, १५ मा १५३ जना, १६ मा ३६२ जना, १७ मा ५८ जना, १८ मा ४ जना, १९ मा १ जना र वडा २० मा १२ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी वडा २१ मा ११ जना, २२ मा पाँच जना, २३ मा १२ जना, २४ मा छ जना, २५ मा सात जना, २६ मा १४० जना, २७ मा १० जना, २८ मा १३ जना, २९ मा ६४ जना, ३० मा १० जना, ३१ मा १५२ जना र वडा नम्बर ३२ मा ४२८ जना सक्रिय सङ्क्रमित रहेको काठमाडौं महानगरपालिकाद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

सक्रिय सङ्क्रमितमध्ये तीन हजार ८८९ जना होम आइसोलेसनमा बसेका छन् भने १४३ जना अस्पतालमा उपचार गराइ रहनुभएको छ । त्यस्तै, ४६ जना संस्थागत आइसोलसनमा रहेको महानगरपालिकाले जनाएको छ ।

कोरोना महामारी शुरु भए यता काठमाडौंको ३२ वटा वडामा हालसम्म ७५ हजार ८३६ जना कोभिड सङ्क्रमित भइसकेका छन् । जसमध्ये ७१ हजार २३५ जना कोरोना सङ्क्रमण मुक्तभएका छन् । त्यस्तै हालसम्म काठमाडौं जिल्लामा मात्रै ५२३ जनाले कोभिडका कारण ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म देशभर ७ लाख ३९ हजार ९०७ जना कोरोना सङ्क्रमित भइसकेका छन् । १० हजार ३९६ जनाको मृत्यु भएको छ । त्यस्तै ६ लाख ८९ हजार १७३ जना सङ्क्रमण मुक्तभएका छन् । त्यस्तै ७७० जना सघन उपचार कक्षमा, १८६ जना भेन्टिलेटरमा, ३६ हजार ८०६ जना होम आइसोलेशनमा, तीन हजार ५३२ जना संस्थागत आइसोलेशनमा र ४५७ जना क्वारेन्टाइनमा उपचार गराइरहनु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको बुधबार सम्मको तथ्याङ्कअनुसार देशभर ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा (डोज) खोप लगाइसकेका छन् भने ३६ लाख ४९ हजार ७६० जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।