१३ बैशाख २०८१, बिहीबार

राष्ट्रपति कार्यालयमा दल फुटाउने अध्यादेश, आजै जारी गर्ने तयारी

bidhya devi
फाइल फोटो

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले आजै जारी गर्ने तयारी थालेको छ । मंगलबार अध्यादेश शितल निवास पुगेको थियो । तर कार्यव्यस्तताको कारण देखाउँदै राष्ट्रपतिले हिजो जारी गरिनन् ।

आज स्वभाविक प्रक्रिया अनुसार नै अध्यादेश जारी हुने राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । उनले भने–‘सरकारले पठाएका अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो। सोहीअनुसार स्वभाविक प्रक्रियामा जान्छ । आजै जारी हुने सम्भावना छ।’

मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरेको छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको छ। त्यसैले एमाले विभाजन गर्न सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्छिन् कि गर्दिनन् भन्नेमा चासो छ।