१६ चैत्र २०८०, शुक्रबार

सत्ता नियन्त्रणमा लिएपछि तालिवानको पहिलोपटक पत्रकार सम्मेलन, केही दिनमै समावेशी सरकार घोषणा हुने

taliban first press meet

तालिवानले अफगान सत्ता नियन्त्रणमा लिएपछि पहिलोपटक आज राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान उदार बन्ने संकेत देखिएको जनाइएको छ ।

तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताए । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गरिने उनले बताएका थिए ।

स्वास्थ्यसहितका अत्यावश्यक क्षेत्रमा महिलाले काम गर्न सक्ने उनले बताए । उनले महिलासँग कुनै भेदभाव समेत नगर्ने बताए । २० वर्षअघिको शासनकालमा तालिवानलाई महिलालाई अत्याचार गर्ने आरोप थियो ।

आइतबार काबुललाई नियन्त्रण गरेपछि तालिवानले महिला र बालबालिकालाई पहिलेजस्तै शोषण र अत्याचार गर्ने संशय पैदा भएको थियो । प्रवक्ता मुजाहिदले आफूहरुले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताए ।

राजनीतिक वार्ता जारी रहेको र आफूहरु सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको उनले बताए । साथै उनले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन’ उनले भने ।

काबुलस्थित विदेशी दूतावासहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र कुनै हानी नपुग्ने उनले बताए । ‘हामी विदेशी देशहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं कि सबै दूतावास, मिसन, अन्तर्राष्ट्रिय संगठन र सहायता एजेन्सीको सुरक्षालाई सुनिश्चित गर्छौ’ उनले भने ।

भारत, अमेरिकासहित ती मुलुकका साझेदारले आफ्ना नागरिक र दूतावासलाई फिर्ता लगिरहेको सन्दर्भमा तालिवानी प्रवक्ताले यस्तो बताएका हुन् ।