१५ चैत्र २०८०, बिहीबार

विचलित र गुटले बदनाम पार्टीमा रहनुको अब कुनै अर्थ छैन : माधवकुमार नेपाल

madhav
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई विभाजनको दिशामा लैजान अग्रसर भएको बताउनुभएको छ ।

मंगलवार विभिन्न ६ जन संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको जुम मिटिङलाई सम्बोधन गर्दै नेता नेपालले ओलीको अहंकार र दम्भका कारण पार्टी विभाजनको संघारमा पुगेको बताउनुभएको हो । ओली एकताको पक्षमा नरहेकोले अब कुरेर बस्नुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो । त्यसैले आफूहरु आफ्नो ढंगले अगाडि बढ्न बाध्य भएको नेता नेपालको भनाइ थियो ।

पार्टीको अध्यक्ष भएर पार्टीलाई एकतावद्द बनाउने, गीतशील बनाउने,लोकप्रिय बनाउने र पार्टीका नेतृत्व र कार्यकर्ता पंक्तिलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी प्रदान गर्ने कुरामा ओली कहिल्यै गम्भीर नभएको उहाँले दाबी गर्नुभयो । ओलीको ध्यान सिंगो पार्टीमा भन्दा सानो गुट र मदनभण्डारी फाउन्डेशनमा मात्र केन्द्रीत भएको नेता नेपालले बताउनुभयो ।

आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा उल्टै अरुलाई आरोप र प्रत्यारोप लगाउने र सबै दोष अरुमाथि मात्र थोपर्ने प्रवृत्ति ओलीमा हाबी भएको उहाँले बताउनुभयो । आफूलाई सर्वोपरी ठान्ने ओलीले सबैलाई समन्वय गरेर पार्टीलाई गतिशील बनाउने कुरामा कहिल्यै ध्यान नदिएको नेता नेपालले दाबी गर्नुभयो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि ओलीमा अंहकार र दम्भ बढ्दै गएर निरंकुश शैलीमा रुपान्तरण भएको नेता नेपालको टिप्पणी थियो । आफूसँग विमति राख्ने र फरक मत राख्नेहरुलाई विरोधीको नजर हेर्ने ओली प्रवृत्तिले सबैभन्दा लोकप्रिय पार्टीको साख र लोकप्रियता अहिले दुर्दशामा परिणत भएको उहाँको जिकिर थियो ।

गणतन्त्र स्थापना गर्न अग्रगामी भूमिका खेलेको पार्टी एमाले अहिले गणतन्त्र विरोधीका रुपमा बदनाम बन्दै गएको उहाँले बताउनुभयो । ओलीको अभिव्यक्ति र कार्यशैलीले राजावादी र गणतन्त्रवादीहरु खुशी हुने अवस्था आएको नेता नेपालको भनाइ थियो । मुलुकमा अहिले संघीयता र गणतन्त्रमाथि नै खतरा पैदा भएको नेता नेपालले बताउनुभयो ।