४ बैशाख २०८१, मंगलवार

जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा

news photo by aama

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गत आव २०७७/७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका छन् । जुम्लामा हाल सम्म बालविवाहको यकिन तथ्य नभए पनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरूको सङ्ख्या हेर्दा बालविवाहको अवस्था अझै भयाभव रहेको देखिन्छ ।

शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण दुरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ । जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अवसरबाट वञ्चित हुनु पर्नेमा बाध्यता कायमै रहेको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्याङ्क अनुसार गत आवमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात् आमा बन्नेको सङ्ख्या कुल ८ सय ६० जना रहेकोमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना किशोरी रहेका छन् ।

पातारासी गाउँपालिकामा १ सय ३४ कनकासुन्दरीमा ९०, सिँजामा ६८, गुठिचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना जुम्लाका किशोरी गत आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।

गत वर्षमा १ सय ८० जनाले निकै कम तौल भएको बच्चा जन्मेका छन् । भने, २० वर्ष माथिका ३ सय ७६ र २० वर्षमुनिका ३० जना किशोरीले गर्भपतन गराएका छन् । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिने लगायतका सबैको मुख्य कारण भनेकै बालविवाह रहेको प्रमुख सापकोटाले जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले वर्षेनि करोडौँ खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले भन्नुभयो,“सङ्घीयतापछि किशोरावस्थामै आमा भन्ने सङ्ख्या अत्यधिक हुनु दुखद पक्ष हो । गैसस तथा सरकारी निकायका बालविवाह उन्मुलनका कार्यक्रम औपचारिकतामै सीमित भएको पुष्टी भयो । यसले पार्ने शारीरिक मानसिक, आर्थिक, सामाजिक, पारिवारिक समस्या समाधानका लागि सबै निकायको ध्यान केन्द्रित हुनुपर्छ ।”

यसका साथै जुम्लामा गत आवमा ८१ प्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् । भने, १७ सय ५२ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । जसमा ९९ प्रतिशत बालबालिकाले बिसीजी खोप लगाइसकेको स्वास्थ्य प्रमुख सापकोटाको भनाई छ । विगतको तुलनामा जुम्लाको स्वास्थ्य क्षेत्र सुधारोन्मुख हुँदै गएको प्रमुख सापकोटाको दाबी छ ।