१६ चैत्र २०८०, शुक्रबार

दार्चुला तुइन प्रकरण छानबिन समितिले अझै बुझाउन सकेन प्रतिवेदन, थप गरिएको म्याद पनि आज सकिँदै

Tueen Darchula

भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता घटना छानबिनका लागि बनाइएको समितिको दोस्रो म्याद पनि आज सकिँदैछ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनाबारे छानबिन गर्न गठित टोलीले दोस्रो म्याद सकिने दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गर्दै १० दिनको समय दिनुभएको थियो । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीलाई समय अभाव भएपछि थप सात दिनको म्याद दिइएको थियो । थपिएको समय आज सकिन लागेको हो ।

समितिका संयोजक गौतमले भने प्रतिवेदनका विषयमा छलफल भइरहेकाले आज प्रतिवेदन बुझाउन नसकेमा म्याद थपका लागि आग्रह गर्ने बताउनुभयो ।

अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताउनुभयो । छानबिन टोलीको नेतृत्व गरेका गृह मन्त्रालयका सहसचिव गौतम अहिले काठमाडौंमा हुनुहुन्छ ।

टोलीका अन्य सदस्य भने सुदूरपश्चिममै छन् । टोलीले अझै सूचना र तथ्य संकलन गरिरहेको र त्यो काम सकिएपछि प्रतिवेदन तयार पारिने संयोजक गौतमले बताउनुभयो ।

जयसिंह धामीको खोजीलाई प्राथमिकता दिएकाले पनि प्रतिवेदन तयार गर्न ढिला भएको गौतमको दाबी छ ।