६ बैशाख २०८१, बिहीबार

उज्बेकिस्तानमा खसालियो अफगान सैन्य विमान

Uzbekistan

उज्बेकिस्तानको रक्षा मन्त्रालयले आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको जनाएको छ। मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो। उक्त विमानमा कति जना सवार थिए वा कोही जीवित छन् कि छैनन् भन्ने कुरा उनले खुलाएनन्।

अफगानिस्तानको सीमामा रहेको दक्षिणी प्रान्त सुखन्दारियोका एक चिकित्सकले समाचारसंस्था एएफपीलाई अफगान सेनाको पोसाक लगाएका दुई बिरामी आइतवार साँझ भर्ना गरिएको बताएका छन्। तीमध्ये एक जनासँग प्याराशुट रहेको र उनको हाड भाँच्चिएको जानकारी ती चिकित्सकले दिए। आइतवार उज्बेकिस्तानका निकायहरूले सीमा पार गरेका कारण ८४ अफगान सैन्य अधिकारीलाई पक्राउ गरिएको जनाएका छन्।

अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको बताइएको छ। मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू आइतवार राजधानी काबुल प्रवेश गरेका थिए।

उनीहरूले सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए। अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने प्रयास भइरहेको छ।

अहिले काबुलका सडकहरूमा तालिबान लडाकुहरू यत्रतत्र देखिन्छन् भने ठूलो सङ्ख्यामा मानिसहरू विदेश जाने प्रयासमा विमानस्थलमा भेला भएका छन्। साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर मानिसहरूलाई अफगानिस्तानबाहिर जान दिन तालिबानलाई आह्वान गरेका छन्।

सोमवार बिहान विमानस्थलमा अनियन्त्रित भिडलाई तितरबितर पार्न अमेरिकी सेनाले हावामा गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्। दौडिएर विमान चढ्न खोज्ने मानिसहरूको “अनियन्त्रित” भिडलाई रोक्न सैनिकहरूले गोली चलाउनुपरेको एक अधिकारीले रोएटर्सलाई बताएका छन्।

तालिबान नेतृत्वले आफ्ना लडाकुहरूलाई अफगान नागरिकहरूलाई केही नगर्न फेरि निर्देशन दिएको छ। आइतवार दोहास्थित तालिबान वार्ता टोलीका एक सदस्यले बीबीसीसँग कुरा गर्दै अफगान जनतासँग “प्रतिशोध” नलिने बताएका थिए।

“हामी अफगान जनता विशेषतः काबुलवासीलाई उनीहरूको सम्पत्ति र जीवन सुरक्षित छ, कसैसँग पनि प्रतिशोध लिइनेछैन भनेर विश्वस्त पार्न चाहन्छौँ,” बीबीसीका याल्दा हकिमसँग सुहैल शाहीनले भनेका थिए।

तर धेरै अफगानहरूमा सन् १९९० को दशकको जस्तो निर्दयी शासन फर्किन्छ कि भन्ने डर देखिन्छ। पहिला शासनमा हुँदा तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिने गरेको थियो भने बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको थियो। – बिबिसि