७ बैशाख २०८१, शुक्रबार

आफूलाई शेयर कारोवार गर्न कानूनले नरोक्ने नेप्सेका कार्यकारी अधिकृत साउदको दाबी

chandra singh saud

धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफूलाई ओटिसी बजारमा कुनै पनि कम्पनीको सेयर कारोवार गर्न विद्यमान ऐन, कानुनले नरोकेको दाबी गर्नुभएको छ ।

बुक बिल्डिङ्ग विधिबाट आईपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको सेयर परिवारका नाममा किनेको पाइएपछि साउदमाथि अहिले छानबिन भइरहेको छ । संसदको अर्थ समितिको बैठकमा साउदले आफूले ओटिसी बजारमा शेयर किनबेच गर्न पाउने दाबी गर्नुभएको हो ।

यस्तै आरोप लागेका धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पनि हिजो आफ्ना परिवारलाई ओटिसी बजारमा शेयर कारोवारमा कुनै रोक नभएको दाबी गर्नुभएको थियो ।

ढुंगानाकी छोरी र साउदकी श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर फेला परेको थियो । ढुंगाना र साउदले त्यो शेयर घुसका रुपमा लिएको आरोप छ ।

बैठकमा समिति सदस्यले शेयर बजारमा गैरकानूनी, अनैतिक गतिविधि रोक्नुपर्ने निकायका व्यक्ति नै त्यस्ता काममा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकाय आफैले शेयर बजारमा चलखेल गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कानूनी व्यवस्था गर्ने बताउनुभयो ।

रेफ्री खेलमा सहभागी हुन नहुने व्यवस्था भए पनि शेयर बजारमा त्यो नियम उल्लंघन भएको भन्दै समितिले आपत्ति जनाएको छ ।