७ बैशाख २०८१, शुक्रबार

घटना देखेर दुनियाँभर मादल बज्दा पनि ‘कम्फर्टेबल’ सरकार ब्युँझेन : बास्कोटा

Gokul Baskota

अफगानिस्तान तालिवान विद्रोहीले कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारको चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‌मा आक्रोश पोखेका छन् ।

सोमबार एमाले सांसद् गोकुल बास्कोटाले प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्र नेपालले सदस्य राष्ट्र अफगानिस्तानमा भएको घटनामा ठोस पहल गर्न नसकेको बताए ।

“नेपाल सार्कको अध्यक्षता गरिरहेको छ । अफगानिस्तान सार्कको सदस्य राष्ट्र हो । त्यहाँको घटना देखेर दुनियाँ चकित र त्रसित छ । त्यहाँका नागरिकहरु र नेपाली दाजुभाइ पनि त्रस्त र भयभित छन् । जसले त्यो राष्ट्रमाथि आक्रमण गरेका थिए उनीहरुले पहिलेबाटै सैन्य क्याम्प खाली गरेका थिए । आफ्ना नागरिकलाई लिन सैनिक पठाएका थिए,” उनले भने ।

बास्कोटाले तर नेपालले अफगानिस्तानमा अलपत्र नेपालीको उद्धारमा कुनै चासो नदिएको बताए । “तर, सार्क राष्ट्रको अध्यक्ष नेपालले आफ्ना नागरिक ल्याउन कुनै चासो दिएन । अनि कम्फर्टेबल सरकार त झन् दुनियाँभर मादल बज्दा पनि ब्युँझेन,” उनले भने,“हिजो त सुनिन्थ्यो उहाँ (शेरबहादुर देउवा) गठबन्धनको हिरो हो । तर, विडम्बना संकटमा परेका नेपालीले आफ्नो देश छ र उद्धारको पहल हुन्छ भन्ने थाहा पाएनन् ।”

बास्कोटाले गठबन्धन सरकार यस प्रकारले गैरजिम्मेवार होला भन्ने नसोचेको पनि गुनासो गरे । “यस प्रकारको गैरजिम्मेवार सरकार होला भन्ने कल्पना गरेका थिएनौँ,” उनले भने,“त्यहाँ अलपत्र नागरिकको जीवनरक्षा हुनुपर्छ । फिर्तीको पहल हुनुपर्छ ।”