६ बैशाख २०८१, बिहीबार

नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता, एक करोड बढी बिगोसहित असईविरुद्ध मुद्दा दर्ता

pollution testing centers on petrol pump

नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पबाट एक करोड ३ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा हिनामिना भएको ठहरसहित त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरभएको छ ।

प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दावीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्की पेट्रोल पम्पमा कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको अख्तियारको दावी छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजाय र १ करोड ३ लाख ९७ हजार ९३७ रूपैयाँ ५४ पैसा विगो मागदवी गरेको छ ।

बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले सो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।